Nepal Telecom

पोउवा संघका नवनिर्वाचित अध्यक्ष पाखिलेद्धारा पदभार ग्रहण

पोखराको विकासको लागि निजी क्षेत्रको साझा मञ्च बनाउने, सोलार लाइट ल्याउन तथा पर्यटन सवारी साधनमा देखिएको समस्या समाधानमा तत्काल पहल थाल्ने

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विश्वशंकर पालिखेले पोखराको समग्र विकासको लागि साझा मञ्च बनाउने उद्घोष गर्नु भएको छ ।

‘पोखराको समग्र विकासको लागि निजी क्षेत्र,विज्ञ र सामाजिक अभियन्ताहरुको साझा मञ्च बनाउन जरुरी देखिएको छ’, सोमबार संघको सचिवालयमा पदभार ग्रहण गर्दै उहाँले भन्नुभयो,‘सरकारी तवरबाट जस्तै यो मञ्चले पनि समग्र पोखराको विकास निर्माणको लागि स्पष्ट खाका र योजना बनाउने छ ।’

उहाँका अनुसार बृहत्तर पोखरा विकास मञ्चको रुपमा क्रियाशिल रहने संस्थाले योजना मात्र बनाउने छैन त्यसको कार्यान्वयनको लागि सरोकारवाला निकायहरुसँग सहकार्य र पैरवी समेत गर्नेछ ।

यसैगरी अध्यक्ष पालिखेले यस अगाडि देखि नै प्रदेश नम्बर ४ को सम्भावनाहरुको बारे प्रदेशका विभिन्न क्षेत्रमा पुगेर बृहत छलफल गरिएको प्रसङ्ग झिक्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यो अभियानले बनाउने खाका प्रदेश नम्बर ४ को लागि निजी क्षेत्रले बनाएको विकास निर्माणको खाका बन्नेछ । उहाँले संघका पूर्व अध्यक्षहरुको सुभाव र निर्देशनमा आफ्नो कार्य समितिले उद्योगी÷व्यवसायीको हित तथा समग्र पोखराको विकास निर्माणको लागि निरन्तर कार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यसैगरी अध्यक्ष पालिखे तथा महासचिव दामु अधिकारी मंगलबार नै राजधानी प्रस्थान गर्नु हुने भएको छ । मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको लिञ्जी सहरको पहलमा तिब्बत सरकारले पोखरालाई दिने भनेको २ हजार थान सोलार लाइट पोलको सम्झौताको पहल गर्न उहाँहरु राजधानी जान लाग्नु भएको हो । राजधानीमा उहाँले स्थानीय विकास मन्त्रालयमा सोलार लाइट सम्झौता छिटो गराउनु अनुरोध गर्नु हुनेछ । यसका साथै राजधानी रहँदा अध्यक्ष पालिखेले पर्यटन यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि सरोकारवाला मन्त्रालयसँग छलफल गर्नेै कार्यक्रम रहेको छ । सो अवसरमा पर्यटन नम्बर प्लेट ( हरियो नम्बर प्लेट) सम्बन्धमा देखिएको अन्यौलतालाई चिर्नको लागि उहाँहरुको पहल रहने छ ।

यसअघि संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले सोमबार नव निर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई संघको सचिवालयमा रहेको अध्यक्षको कार्यकक्षमा स्वागत गर्दै पदासिन गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्षलाई पदभार ग्रहण गराउँदै निवर्तमान अध्यक्ष थापाले देश संघीय संरचनामा गएको यो अवस्थामा पोखरा उद्योग वाणिज्य संघले आफूलाई प्रदेश नम्बर ४ को केन्द्रिय संघको रुपमा विकास गराउनु पर्नेमा जोड दिनुभयो । सदस्यता वृद्धिको लागि नयाँ कार्यसमितिले विशेष पहल गर्नु पर्ने उहाँको धारणा थियो ।

नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै संघका कार्यकारी निर्देशक टोपबहादुर थापाले नवनिर्वाचित कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । संघको सचिवालय दैनिक कार्य सम्पादनको अतिरिक्त कार्यसमितिले अगाडि सारेको योजनाहरुलाई कार्यान्वयन गर्न सदैव तत्पर रहेको बताउँदै उहाँले नविनतम् योजनाका साथ यो कार्यसमिति अगाडि बढ्ने आशा समेत व्यक्त गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित महासचिव दामु अधिकारीले संचालन गरेको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य राजेन्द्रकुमार लालचन र पूर्व अध्यक्ष संजिवबहादुर कोइरालाको पनि उपस्थिति रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*