Nepal Telecom

ट्रम्प भन्छन्, ‘३० लाख आप्रवासी कि निर्वासित हुनुपर्यो कि जेल चलान’

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार सुरुवातमा ३० लाख अवैध आप्रवासीलाई निर्वासित गरिने वा उनीहरुलाई जेल हालिनेछ ।

अमेरिकी च्यानल ‘सिबीएस’ सँगको एक साक्षात्कारमा ट्रम्पले आपराधिक रेकर्ड भएका प्रवासीहरुका विरुद्ध कारवाही गरिने बताए । केही आपराधिक समूहका सदस्य र लागु औषध व्यापारीका विरुद्ध कारवाही गरिने उनले जानकारी दिए ।

ट्रम्पले चुनावको क्रममा मेक्सीको र अमेरिकाको सीमामा पर्खाल बनाउने बाचा गरेका थिए । यस विषयमा बोल्दै उनले आफू यो बाचामा अडिग भएको बताए । यद्यपी, पर्खालको सट्टा बार पनि लगाउन सकिने उनले बताए ।

साक्षात्करको क्रममा उनले भने, ‘जो अपराधी हुन् र जसको आपराधिक रेकर्ड छ वा कुनै आपराधिक समूहका सदस्य छन् अथवा कोही लागु औषधको व्यापारी छन्, उनीहरुलाई हामीले खोजी गर्नेछौं । मलाई लाग्छ यस्ता व्यक्तिको संख्या २० लाख छ अथवा ३० लाख पनि हुनसक्छ । हामी उनीहरुलाई देशभन्दा बाहिर निकाल्छौं वा उनीहरुलाई जेलमा हाल्छौं ।’

अमेरिकामा गत मंगलबार भएको राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिंटनमाथि जीत हाँसिल गरेका थिए ।

ट्रम्पले आउँदो २० जनवरीमा कार्यभार सम्हाल्नेछन् । अमेरिकी कांग्रेसको दुबै सदनमा पनि रिपब्लिकन पार्टीको बहुमत छ ।

अमेरिकामा करिब १ करोड ४० लाख प्रवासी यस्ता छन् जो बिना दस्ताबेज बसिरहेका छन् । यीमध्ये मेक्सीकोबाट आएका व्यक्तिहरुको संख्या उच्च छ । –बीबीसी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*