Nepal Telecom

धार्मिक पर्यटन प्रवद्र्धन गर्न पोखरामा कैलाश धाम

पोखरा, २१ जेठ । पोखराको लेकसाइडस्थित बंगादीमा शिव मन्दिर एवं कैलाश धाम निर्माण भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित निर्माण भएको मन्दिर र धामको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले धाम र मन्दिरको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले धामले पोखरामा आउने धार्मिक पर्यटकको संख्या बढाउन योगदान पुरयाउने बताए ।

करिब २० लाख रुपैयाँ लगानीमा धाम तयार भएको शिव मन्दिर कैलाश धाम निर्माण समितिका अध्यक्ष टेकनाथ अधिकारीले जानकारी दिए । ‘पाँच रोपनी जग्गामा धाम निर्माण भएको छ,’ उनले भने, ‘चन्दा संकलनबाट निर्माण गरिएको हो ।’

शान्त वातावरणमा निर्माण गरिएको उक्त धामबाट फेवाताल लगायत वरपरको दृश्यावलोकन गर्न सकिने सचिव बलबहादुर थापाले बताए । सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको धाम क्षेत्रमा मन्दिर, प्रतिक्षालय र भण्डार कोठासमेत निर्माण गरिएको निर्माण समिति सदस्य सीता गुरुङले जानकारी दिइन् ।

उद्घाटन कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, वडा नं. ६ का नवनिर्वाचित सदस्य विष्णुबहादुर भट्टराई लगायतले बोलेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*