Nepal Telecom

फुटपाथ अतिक्रमण तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग 

वार्ता र सहकार्यबाट समस्याको समाधान खोज्न सरोकारवालासँग आग्रह

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक क्षेत्रको फुटपाथ अतिक्रमण तत्काल रोक्न पोखरा लेखनाथ महानगरपालिकासँग जोडदार माग गरेको छ ।
पोखराको पृथ्वीचोकस्थित नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको ‘सस्तो बजार’ प्रकरणसँगै त्यहाँ रहेका व्यवसायीहरुले बिगत केही दिनदेखि सडक पेटीमा नै व्यवसाय गर्न थालेपछि नेपाल राष्ट्रिय वाणिज्य संघ कास्कीको यो धारणा सार्वजनिक भएको हो ।
संघका कास्की अध्यक्ष संजिवबहादुर कोइरालाद्धारा जारी विज्ञप्तिमा जुनसुकै बहानामा गरिने सडक अतिक्रमण दण्डनीय भएकाले सो कार्यमाथि पूर्णता रोक लगाउनु पर्ने बताउँदै समस्या समाधान नभए पोखरा कुरुप सहरमा परिणत हुने तथा कानूनी राज्यको अवधारणामाथि नै प्रश्नचिन्ह खडा हुने उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपाल वायु सेवा निगमको जग्गामा रहेका व्यापारीहरु बाहिर सडकमा आउँदा लुकीछिपी फुटपाथमा व्यापार गर्नेहरु पनि सोही ठाउँमा पुग्दा स्थिति झन जटिल बन्न पुगेको दावी गरिएको छ ।
‘फुटपाथ अतिक्रमणले आम नागरिकको नैसर्गिक अधिकार नै हनन मात्र भएको छैन, फुटपाथ व्यवसायरहितको पर्यटकीय सहर  को नारा नै धरापमा परेको छ ’, विज्ञप्तिमा भनिएको छ,‘ कानून मिचेर गरिने गतिविधीलाई जनप्रतिनिधीहरुले नजरअन्दाज गर्न मिल्दैन ।’
विज्ञप्तिमा केही वर्ष पहिला पोखराको फुटपाथमा अनधिकृत रुपले संचालन हुँदै आएको फुटपाथ व्यवस्थापन गर्ने क्रममा नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा ‘सडक व्यवसायी ’व्यवस्थापन गरिएको स्मरण गर्दै अहिले त्यहाँ देखिएको विवादलाई संवाद र सहकार्यको माध्यमबाट हल गर्न सम्बन्धित पक्षलाई अनुरोध पनि गरिएको छ ।
 विज्ञप्तिमा तोकिएको भाडा तिरी वर्षौँदेखि सो स्थानमा रहँदै आएका व्यवसायीहरुको लगानी नै धरापमा पर्ने गरी बलात् सो स्थानबाट हटाउनु तथा अस्वभाविक रुपले भाडा बृद्धि गरिनलाईु मानवीय दृष्टिले उचित मान्न नसकिने तथा  अर्कोतर्फ व्यक्तिको सम्पत्तिमाथिको अधिकारलाई  हनन गर्ने गरी कुनै व्यक्तिको सम्पत्ति मेरै हुनुपर्छ भन्ने मान्यतालाई पनि कानून सम्मत मान्न नसकिने समेत प्रष्ट पारिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*