THURSDAY APR 18, 2024

रोनाल्डोको विश्वकप टोलीबाट रेनाटो साञ्चेज बाहिरिए

सन् २०१६ को युरोकपका महत्वपूर्ण युवा खेलाडी रेनाटो साञ्चेज रुस विश्वकप फुटबलभन्दा बाहिर रहने भएका छन् । सोमबार भएको पोर्चुगलको प्रारम्भिक खेलाडी छनोटमा उनी पर्न नसकेका हुन् ।

रुसमा हुने विश्वकपका लागि पोर्चुगलका म्यानेजर फर्नान्डो सान्तोषले गरेको खेलाडी छनोटमा २० वर्षीय खेलाडीको नाम अटाउन नसकेको हो ।

इंगलिस प्रिमियर लिगमा स्वान्सी सिटीबाट खेलेका साञ्चेजले आफ्नो टोलीमा आशा गरिए अनुसारको प्रदर्शन गर्न नसकेको कारण उनी टोलीबाहिर रहन पुगेका हुन् । स्वान्सी सिटी पनि प्रिमियर लिगको रेलिगेसनमा परेको छ ।

सन् २०१६ मा भएको युरोकपमा साञ्चेजले आफ्नो टोलीले खेलेको सात खेलमध्ये छ खेलमा खेल्ने मौका पाएका थिए । साञ्चेजलाई जर्मन क्लव बार्यन म्युनिखमा आउनका लागि ठुलो अवसर पनि मिलेको थियो तर विभिन्न समस्याहरुको कारण उनी स्वान्सी सिटिमा नै बसेका थिए जसको प्रतिफलस्वरुप उनले रुसमा हुने विश्वकप गुमाउने भएका हुन् ।

पोर्चुगलले अहिले सार्वजनिक गरेको टोलीको कप्तान क्रिस्टियानो रोनाल्डो रहने छन् । अबको केही दिनमा २३ सदस्यीय खेलाडीको नाम घोषणा गर्ने तयारीमा पोर्चुगल रहेको छ ।

पोर्चुगल यसपटकको विश्वकपको समुह बी मा रहेको छ । यो समुहमा स्पेन, मोरक्को र इरान रहेका छन् ।

Facebook Comments