Nepal Telecom

पोखरा अब छिट्टै महानगरपालिका बन्ने

पोखरा, २८ जेठ । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरा अब छिट्टै महानगरपालिका बन्ने बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य संघले उहाँको सम्मानमा शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत कुँवरले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले त्यसको तयारीको लागि आफूलाई निर्देशन दिएको समेत बताउनुभयो ।

‘पोखरालाई महानगरपालिका घोषणाको लागि तदारुकता देखाउन मन्त्रालयबाट निर्देशन भएको छ’, उहाँले भन्नुभयो,‘त्यसको लागि काम सुुरु हुन्छ, यो खुसीको कुरा सुनाउन पाउँदा गौरवान्वित भएको छु ।’ पोखरा प्रस्ताबित क्षेत्र नम्बर ४ को निर्विकल्प राजधानी समेत भएकोले यसको भौतिक पूर्वाधार स्तरोन्नतिसँगै महानगरपालिका घोषणा हुने उहाँको भनाइ थियो । उहाँले पोखराको फुटपाथ व्यवस्थापन, ट्राफिक व्यवस्थामा सुधार, सरसफाइमा विशेष सुधारका लागि कामहरु अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । यही जेठ २० गतेबाट कार्यभार सम्हाल्नुभएका कार्यकारी अधिकृत कुवँरले आर्थिक वर्षको अन्त्यमा विभिन्न विकासका कामहरु अगाडि बढ्दै गरेको र केही महिना कार्यकारी अधिकृत नहुँदा थुप्रिएका कामहरुमा नै आफूले विशेष चासो दिएको जानकारी समेत दिनुभयो । योजना बन्ने, शिलान्यास पनि हुने तर काम नहुने परम्पराको उदाहरण मेलम्ची आयोजना भएको उल्लेख गर्दै उहाँले पोखरेलीहरुले विमानस्थल निर्माणको लागि रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । विकास निर्माणमा जनस्तरको सहभागिताको लागि पोखरा देशकै नमूना भएकोमा खुसी व्यक्त गर्दै उहाँले पोखरा उद्योग वाणिज्य संघ सधैँ उपमहानगरपालिकाको प्रमुख साझेदार रहनु पर्नेमा जोड दिनुभयो । भू–उपयोग नीति कार्यान्वयन हुन नसक्दा पोखरा समेत कुरुप हुने सम्भावना बढेको स्वीकार्दै हाँले नक्सा पासको नयाँ मापडण्डले त्यसको लागि केही सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले अहिले आएको बजेटले पोखराको माग सम्वोधन गरे पनि उपमहागरपालिकाको तर्फबाट हुने कामहरु समेत जनमैत्री हुनुपर्नेमा जोड दिनुभयो । पोखराको विकासको लागि मास्टर प्लानको जरुरत र त्यसको सही कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले पोखरा उद्योग वाणिज्य संघ र उपमहानगरपालिकाबीचको साझेदारीले पोखरालाई अन्तर्राष्ट्रिय सहर बनाउन सकिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । पोखराको फुटपाथ व्यवस्थित गर्न संघले खेलेको भूमिकाको स्मरण गर्दै उहाँले बालमैत्री सहर बनाउने अभियानलाई समेत संघले सघाउने वचनवद्धता प्रकट गर्नुभयो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचनले पोखराका सडकमा रहेका आइल्याण्डहरु ठूला भएको र त्यसले ट्राफिक व्यवस्थापनमा समस्या ल्याएकोले आइल्याण्डहरु सानो बनाउनुपर्ने सुझाव दिनुभयो । संघका पूर्व उपमहासचिव शिवजी कोइरालाले पोखराको विकासको लागि अगाडि सारिने परियोजनाहरुमा नगरवासीको रुपमा आफ्नो सहयोग रहने बताउनुभयो । सिटी रेवान कास्कीका अध्यक्ष केपी शर्माले फोहर फाल्ने जिम्मा पाएको ठेकेदारले होटल र रेष्टुरेण्टबाट निस्कने फोहर उठाउन बढी पैसा मागेकोले त्यसमा सुधार हुनुपर्ने माग गर्नुभयो । संघका कार्यसमिति सदस्य विश्वशंंकर पालिखेले चीन सरकारले दिएको पैसा उपमहानगरपालिकाले त्यत्तिकै थन्क्याएर राखेकोले त्यसको सही र तोकिएको ठाउँमा खर्च हुनुपर्नेमा जोड दिनुभयो । संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले कार्यकारी अधिकृतको कार्यकाल अविश्वरणीय होस् भन्ने कामना गर्नुभयो भने द्धितीय उपाध्यक्ष मीनराज काफ्लेले नगरबासीको चाहनालाई पहिलो प्राथमिकता दिन कार्यकारी अधिकृतसँग आग्रह गर्नुभयो । संघका महासचिव रवीन्द्रबहादुर प्रजुले पोखरा उद्योग वाणिज्य संघ र उपमहानगरपालिकाबीचको सम्बन्ध अझ मजबुत बनाउनको लागि कार्यकारी अधिकृतको सकारात्मक भूमिकाको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा उपमहामगरपालिकाका आलेप प्रमुख अनन्तप्रसाद कोइराला, महिला उद्यमी गोमा पहारी, यमनाथ पौडेल, यमनाथ तिमिल्सिना, धनिराम बराल, पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनिकरण कार्यक्रमका संयोजक भक्त रसाइली लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*