TUESDAY DEC 11, 2018

‘पार्टि एकता गर्दा ५०/५० प्रतिशत हुनुपर्छ’: प्रचण्ड

काठमाडौं – साेमबार अखिल क्रान्तिकारीले अायाेजना गरेकाे प्रशिक्षण कार्यक्रमकाे समापन हुँदै थियाे । प्रशिक्षणसहित कार्यक्रम समापनका लागि मुख्य अतिथि थिए नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।

गाेप्य भनिएकाे प्रशिक्षणमा उनले अन्तिम चरणमा पुगेकाे पार्टी एकतासम्बन्धी विषयमा धेरै कुरा राख्ने अनुमान सबै सहभागीकाे थियाे ।
अझ अघिल्लाे दिन अाइतबारकाे प्रशिक्षणमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता अन्तिम चरणमा पुगेकाे र १९, २० गते एकता घाेषणाकाे सम्भावना रहेकाे बताएकाले अाज अध्यक्षबाट विशेष सम्बाेधनकाे अाशा सबैले गरेका थिए ।

तर, भइदियाे ठिक उल्टाे । अध्यक्ष प्रचण्डले पार्टी एकताकाे चर्चा त गरे तर, पार्टी एकता अन्तिम चरणमा पुगेकाे बताएनन् । बरू, भने, पचार पचासकाे बराबरी सहभागितामा मात्र पार्टी एकता हुन्छ । सबै संगठनमा एक जना पनि उनीहरूकाे बढी र हाम्राे कम हुने अवस्थामा पार्टी एकता हुँदैन ।

प्रचण्डका मुखबाट यस्ताे अभिव्यक्ति सुनेपछि गाेप्य प्रशिक्षणभित्र परररर ताली बज्याे । प्रचण्ड अझ हाैसिए र भने – २०४६ मा मनमाेहन अधिकारी र मदन भण्डारीले पार्टी एकता गरेर एमाले बनाउँदा पनि बराबरीकै भागवण्डा गरिएकाे हाे । अाज माअाेवादी सानाे भयाे भनेर कम अाँक्न मिल्दैन । हिजाे हामी उनीभन्दा कयाैँ गुणा ठूलाे थियाैँ । त्यस वेला पनि पार्टी एकताकाे कुरा भएकाे थियाे । के त्यतिवेला एकता भएकाे भए उनीहरूले ७० र ३० भन्ने स्वीकार्थे ? याे सम्भव थिएन । त्यसैले अब पनि ५०-५० प्रतिशत नभइ एकता हुँदैन, तपार्इंहरू ढुक्क हुनुस् ।

प्रचण्डले यत्ति भनिसक्दा धेरैपटक ताली बज्याे । उनी थप हाैसिएका जस्ता देखिन्थे । त्यसैले अझ थपे – माअाेवादी संगठनमा सानाे हाेला तर, एमालेभन्दा कयाैँ बढी हाेलटाइम कार्यकर्ता भएकाे पार्टी हाे । जनवर्गीय संगठनहरू हेर्दा एमालेकाे भन्दा हाम्राे बढी सकृय छन् । विद्यार्थीमा तपार्इंहरूकाे सकृयता अनेरास्ववियुकाे भन्दा बढी छ भनेर उहाँहरू नै भन्ने गर्नुहुन्छ । मजदुर, किसान, महिलालगायत सबै जनवर्गीय संगठन हाम्राे सशक्त छ । त्यसैले सम्मानजनक रूपमा समान रूपमा एकता अनिवार्य छ ।

यति भनिसकेपछि उनले पार्टी एकता तत्काल हुन सकेन भने के हुन्छ ? भन्ने अाशंका दूर गर्ने प्रयास गरे ।

भने – पार्टी एकता हतारमा गरेर पछुताउने कुरा हाेइन । त्यसैले गम्भीर बहस र छलफल हुन्छ । अहिले तत्काल एकता हुन सकेन भने पार्टी चलिरहन्छ । छलफल पनि चलिरहन्छ ।

Facebook Comments