THURSDAY FEB 21, 2019

पोखरामा मानव मिलनको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

मानव मिलनको अन्तराष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानसेनापति रुकमांगत कटुवालले पछिल्लो समय नेपाली समाज विकृति र विसंगती तर्फ अग्रसर भएकोले यसलाई रोक्न सचेत नागरिक अघि सर्नुपर्ने बताए ।

उनले पछिल्लो समय घटेका बलात्कार र महिला हिंसाका घटनाले मानवियता जटिल परिस्थितितर्फ उन्मुख भएको बताए । ‘समाज विकृति र विसंगतीमा हिडिरहेको छ । दिनहुँ बलात्कार र महिला हिंसाका घटना मिडियामा आईरहेका छन्, उनले भने–हाम्रो खानपान र दैनिकीले पनि घटनालाई जोडवल पुगेको छ । हामी सचेत भयौं भने धेरै घटनाहरु साम्य हुन्छन् ।’ मानव मिलन संस्थाले समाज सेवामा गरेका कामबारे उनले खुलेर प्रशंसा गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद सूर्यबहादुर केसीले धर्म र संस्कृतिले नै मानव भएर जिउन सिकाउने बताए । आफुँ उत्तराद्र्धमा धार्मिक सम्बद्र्धनमा लागेको भन्दै उनले सबैलाई मानव मिलनका कामले प्रेरणा मिल्ने उल्लेख गरे । उनले भारत र नेपालबीच भाईचाराको विकास हुनुपर्ने बताए । कार्यक्रममा नेपाल सहित भारतका विभिन्न राज्यबाट प्रतिनिधिहरु उपस्थित भएका थिए ।

मानव मिलनका संस्थापक डा. मणिभद्र मुनिजी महाराजले संस्थाको कामले समाजलाई नै फाइदा पुगेको बताए । ‘संस्थाले थोरै काम गर्छ । तर समाजले त्यसबाट धेरै कुराहरु पाइरहेको छ, उनले भने–त्यसैले समाज परिवर्तनका लागि आफ्नो सोंच र धारणा परिवर्तन गर्नुपर्छ । आफैं परिवर्तन हुनुपर्छ ।’

संस्थाका विभिन्न शाखाबाट प्रतिनिधित्व गर्ने शान्ति ढकाल, गीता लामिछाने, नारायण प्रसाद पौडेल, प्रमोद चोडोरिया, बिजय दहिया, अभय कोटेचा, ललिता ओसवाल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नारी परोपकार संस्थाकी अध्यक्ष शारदा गिरी, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोला, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल र प्रा.डा. नारायण अधिकारीले बोलेका थिए ।

यस बर्ष मानव मिलन महिला विभाग पुना भारत सर्बोत्कृष्ट संस्थाको रुपमा सम्मानित भएको छ । मानव मिलन महिला विभाग अन्तराष्ट्रिय अध्यक्ष कुशुम जैनको अध्यक्षतामा भएको कार्यक्रममा रेशमराज सुवेदीले स्वागत, कोमल प्रजुले धन्यवाद ब्यक्त गरेकी थिईन् भने कार्यक्रम संयोजक सावित्री शर्माले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

Facebook Comments