FRIDAY NOV 16, 2018

पोखराको औद्योगिक क्षेत्रको विरोध अस्वीकार्य : अध्यक्ष अधिकारी

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बस्तीको बीचमा प¥यो भन्ने निहुँमा पोखराको कुँडहरमा रहेको औद्योगिक क्षेत्रलाई हटाउन नहुने बताउनुभएको छ ।

‘हामीले यहाँ (कुँडहरमा) मानव बस्ती पहिला थियो कि औद्योगिक क्षेत्र पहिला बनेको थियो भन्ने कुरा सम्झनु पर्छ’, पोखरा औद्योगिक क्षेत्र उद्योग संघले पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘यहाँको मानव बस्तीमा उद्योगको कारण पर्ने समस्या निराकरणको लागि हामी पहल गर्छौँ तर औद्योगिक क्षेत्र नै हटाउने कुराको हामी विरुद्धमा छौँ ।’

पोखरा औद्योगिक क्षेत्र २०३१ सालमा स्थापना भएको हो । कुँडहरमा औद्योगिक क्षेत्र बसाउँदा त्यहाँ मानवबस्ती थिएन । औद्योगिक क्षेत्र बसेपछि बिस्तारै त्यहाँ मानवबस्ती बढेको हो । औद्योगिक क्षेत्रभित्र ८७ वटा उद्योगहरु रहेका छन् । अहिले औद्योगिक क्षेत्र बस्तीले घेरिएको छ । नेपालका सबैजसो औद्योगिक क्षेत्र पहिला मानवबस्ती बाहिर स्थापना भए पनि कालान्तरमा सोही ठाउँमा मानवबस्ती बसाउने र पछि औद्योगिक क्षेत्रले प्रदुषण ग¥यो भन्ने गुनासोसहित बिरोध गर्ने परम्पराजस्तै बनेको छ ।

कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्रका निमित्त प्रबन्धक हिमाल भण्डारीले औद्योगिक क्षेत्रले रोजगारी सृजनामा योगदान दिएको उल्लेख गर्दै अब बन्ने नयाँ औद्योगिक क्षेत्रलाई बिवादमुक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष बलभद्र नकर्मीले उद्योगको नविकरण गर्न वडा कार्यालयसम्म धाउनु पर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउँदै उहाँले उद्योगीको मानमर्दन गरेर देशले सम्वृद्धि प्राप्त गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

संघका निवर्तमान अध्यक्ष एवं सिएनआई गण्डकीका संयोजक विनोद शर्माले खाद्य सुरक्षाको नाममा गरिने बजार अनुगमन हुनुपर्नेमा काम देखाउनको लागि मात्र अनुगमन थालिने र व्यवसायीलाई दुःख दिइने गरेको गुनासो गर्नुभयो ।

औद्योगिक क्षेत्र उद्योग संघका महासचिव उपाध्यक्ष रुद्रलाल श्रेष्ठको धन्यवाद तथा महासचिव वीरेन्द्र बस्ताकोटीको स्वागत रहेको कार्यक्रममा औद्योगिक सुरक्षाबलका गणपति लालबाबु शाहीले पनि मन्तव्य राख्नु भएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारेर उद्योग संघले टोल विकास संस्थाले निर्माण गरेको मिलन बहुउदेश्यीय भवन तथा टोलको विकासको लागि १ लाख ६ हजार रुपैया प्रदान गरेको छ । संघका अध्यक्ष बलभद्र नकर्मीले संस्थाकी अध्यक्ष गोमा रायमाझीलाई सो रकम हस्तान्तरण गर्नुभयो । सामाजिक उत्तरदायित्वबहन गर्दै संघले औद्योगिक क्षेत्रमा रहेको टोल विकास संस्थालाई सो रकम प्रदान गरेको उहाँले प्रष्ट पार्नुभयो ।

Facebook Comments