TUESDAY DEC 11, 2018

‘१८ औँ वर्षको जन्मदिन रक्तदान गरेर मनाऔँ’ स्टार्ट १८ स्टार्सको अध्यक्षमा हिमाल भट्टराई

१८ वर्ष पुगेपछि रक्तदान गर्नका लागि हरेक व्यक्ति योग्य हुन्छन् । यहि कुरालाई जोड दिँदै भर्खरै गठित ‘स्टार्ट १८ स्टार्स टिम’ले आफ्नो अभियान थालनी गरेको छ । यो टिमले १७ पुरा भएर १८ वर्ष पुग्दै गरेका युवा युवतीहरुलाई आफ्नो जन्मदिनमा रक्तदान गरेर जन्मदिन मनाउन प्रेरित गर्दै अभियानलाई तिव्रता दिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको भातृ संगठनको रुपमा गठित यो टिमले मुलतः रगत अभावमा रहेका विरामीहरुको लागि रगत व्यवस्थापन गर्ने काम गर्दै आएको छ । केहि दिन अगाडि मात्रै यो टिम संगठित भएर रक्तदान सम्बधि जनचेतनामूलक कामहरु समेत गर्दै आएको छ । खासगरि पछिल्लो समय युवापुस्ता अत्याधिक सक्रिय हुने सामाजिक संजालबाट टिमले आफ्नो अभियानलाई अगाडि बढाईरहेको टिमका अध्यक्ष हिमाल भट्टराईले बताए ।

‘सामाजिक संजालसँगै हामीले अन्य माध्यमबाट पनि रक्तदानसम्बधि जनचेतना जगाउने गतिविधिहरुलाई अगाडि बढाईरहेका छौँ ।’ टिमका महासचिव अकृजा पोखरेलले भनिन्–‘सडक नाटक, विभिन्न खाले प्रशिक्षण र कार्यक्रमहरुबाट हामीले यो अभियानलाई अगाडि बढाउने गरि तयारी थालेका छौँ ।’ पोखरेलले यो टिमले रक्तदानसम्बन्धि जनचेतना, रगत व्यवस्थापनसँगै अन्य खाले सामाजिक सेवामूलक काम पनि गर्ने जानकारी दिए ।

स्टार्ट १८ स्टार्स टिमको पदस्थापन

यसैबीच केहि दिनअगाडि मात्रै गठन भएको ‘स्टार्ट १८ स्टार्स टिम’ कास्की शाखाको पदस्थापन भएको छ । अध्यक्ष हिमाल भट्टराईसँगै उपाध्यक्ष अनिल तिवारी, महासचिव अकृजा पोखरेल, सचिव असिम ढकाल, उपसचिव पुरञ्जन बजगाँई, कोषाध्यक्ष मेनुका लुँईटेल र सह कोषाध्यक्षमा शिव आचार्य सहित अन्य सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिए ।

वडा प्रहरी कार्यालय वैदामका प्रमुख अनिल कार्की र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तीर्थराज अवस्थी लगायतले नवगठित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ खुलाएका थिए ।

कार्यक्रममा क्षेत्रीय रक्तसंचार केन्द्रका प्रमुख धु्रवमणी लामिछाने, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका कोषाध्यक्ष उदय भट्टराई, लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका उपाध्यक्ष जितेन्द्रमान शाक्य, फार्मेसेी एशोसियसन अफ नेपाल गण्डकी प्रदेशका सचिव सुवर्णराज पन्त, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका कार्यकारी सदस्य निश्चल खरेल, विरेन्द्र पराजुली, दाह«ी ग्याङ पोखराका सँयोजक वसन्त पहारी, एमआरआर पोखराका सँयोजक सुवास शर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका सल्लाहकार हिमाल खनाल, जिल्ला सदस्य दीपेन्द्र भण्डारी र स्टार्ट १८ स्टार्स बुटवलका अध्यक्ष युवराज वञ्जाडेसहितको टोलीको सहभागिता रहेको थियो ।

पदस्थापनसँगै स्टार्ट १८ स्टार्स टिम पोखरा शाखाले युवायुवतीहरुलाई लक्षित गर्दै ‘१८ औँ वर्षको जन्मदिनमा रक्तदानको शुभारम्भ गरौँ’ भन्ने अभियानलाई पनि थालनी भएको घोषणा गरेको छ ।

Facebook Comments